नेभिगेसन मेनु

उत्पादित सामान बिक्री नहुँदा पेसाबाट पलायन हुँदै व्यवसायी
सम्पादक:南亚网络电视
समय:2024-06-07 14:24

garelu-news

तनहुँ, जेठ २५ गते । उत्पादित सामान बिक्री नहुँदा पेसाबाट पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको तनहुँका घरेलु तथा साना उद्योगीले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ३५ औँ स्थापना दिवसको उपलक्ष्यमा घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँको आयोजनामा दमौलीमा गरिएको अन्तर्क्रिया तथा उद्यमीलाई सम्मान कार्यक्रममा अधिकांश व्यवसायीले पिरमर्का परे पनि त्यसमा सरोकारवालाको ध्यान जान नसकेको गुनासो गरे  । 

कोभिड–१९ ले गर्दा गरिएको बन्दाबन्दीबाट मुलुकमा देखिएको आर्थिक सुस्तताका कारण घरेलु तथा उद्योगी व्यवसायी पलायन हुने क्रम बढ्न थालेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले जानकारी दिनुभयो । 

उत्पादित सामान सस्तो मूल्यमा बिक्री गर्नुपर्दा लागत मूल्य नउठेर उद्योग बन्द गर्ने, सामान मगाएर बेच्ने व्यवसायीले  सडर भाडा तिर्न नसकेर पसल बन्द गर्ने क्रम बढेको बताउनुभयो । व्यवसायीलाई पलायन हुनबाट रोक्न मानिसको धेरै चहलपहल हुने स्थानमा कोसेलीघर सञ्चालनका लागि स्थानीय सरकारसमक्ष निवेदन दिएको गौलीले बताउनुभयो । 

महिला उद्यमी समिति तनहुँकी सचिव सिर्जना कोइरालाले नोक्सान भएका बेला बिमा कम्पनीले छिटो र छरितो रूपमा भुक्तानी नदिने भएकाले व्यवसायी निराश बन्ने गरेको बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाको ब्याज, विभिन्न कर, भाडालगायत खर्च धान्न नसकेपछि कतिपय उद्योगी व्यवसायी विदेश पलायन भएका छन् भने कतिपयले व्यवसाय छाडेर विकल्पको खोजी गरेको उहाँले बताउनुभयो । 

गौलीले भन्नुभयो, “बिक्री नभएको अवस्थामा स्थानीय सररकारले खरिद गर्ने, ढुवानीको व्यवस्था मिलाउने तथा सिधै उपभोक्तालाई सस्तोमा सामान बिक्री गर्नका लागि निःशुल्क सटरको व्यवस्था गर्न माग राखेका छौँ । घरेलु तथा साना उद्योग महासङ्घ तनहुँका संस्थापक अध्यक्ष मछिन्द्रा श्रेष्ठले बजारको व्यवस्थापन, आधुनिक सिप र उपकरण दिएर सररकारले व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने बताउनुभयो । 

शुक्लागण्डकी नगरपालिका–९ की तारा विश्वकर्माले भारत र चीनबाट सस्तो मूल्यमा रेडिमेड कपडा बजारमा आउने भएकाले बिक्री गर्न समस्या परेको बताउनुभयो । हात र खुट्टाले चलाउनेको सट्टामा बिजुलीबाट चल्ने उपकरण तथा कपडा सहुलियतमा पाउने व्यवस्था मिलाएर पेसा जोगाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । विकले भन्नुभयो, “हामीले हातले सिलाउँदा र कपडा किनेर तयार गर्दा छ सय रुपियाँ पर्छ । विदेशबाट त्यही टी सर्ट तीन सयमा आउँछ, यसले गर्दा बिक्री गर्न समस्या परेको छ । यस्तै धारणा राख्नुहुन्छ सोही ठाउँकी कृष्ण विक । विकले भन्नुभयो, “हामीलाई आधुनिक उपकरण र सिप आवश्यक छ, हामी किन्न सक्दैनौँ, सरकारले दिँदैन, त्यसैले पेसा सङ्कटमा परेको छ ।” बैङ्कको चर्को ब्याज, दोहोरो तेहेरो कर, भाडा र अन्य सञ्चालन खर्च धान्न नसकेपछि व्यवसाय नै छाडेर विदेश जानुपर्ने बाध्यता आएको व्यास नगरपालिका–११, रामथुम्की निवासी ‘माटो र आमा बचाऊँ’ अभियानका अभियन्ता मित्रलाल दुरा बताउनुहुन्छ । 

अन्तर्क्रिया कार्यक्रमकी प्रमुख अतिथि व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले व्यवसायीलाई परेको समस्या र उनीहरूको माग सम्बोधनका लागि नगरपालिका सधैँ तयार रहेको बताउनुभयो । व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप राना, व्यास नगरपालिका कार्यपालिकाका सदस्य चन्द्रमाया परियारलगायतले उत्पादन अनुसारको पकेट क्षेत्र निर्धारण गरेर सोही अनुसारको अनुदानको व्यवस्था गरी उत्पादनको लागत घटाउन ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा सफल उद्यमी तथा सञ्चार माध्यमलाई सम्मान गरिएको थियो । आँबुखैरेनी गाउँपालिका–१, बराँदीस्थित मिलीजुली कृषि उत्पादक सहकारीका अध्यक्ष ईश्वरबाबु गौली, व्यास नगरपालिका–२ स्थित निखिल ढाका उद्योगकी सञ्चालिका चन्द्रमाया तामाङ र नेपाल पत्रकार महासङ्घ तनहुँलाई सम्मान गरिएको हो ।  

२७८ उद्योग खारेज 

यसैबिच पर्यटन तथा उद्योग कार्यालय तनहुँमा दर्ता भई सञ्चालनमा रहँदै आएका २७८ वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा चैतसम्ममा ती उद्योग बन्द भएका हुन् । उद्योगतर्फ ११६ र वाणिज्यतर्फका १६२ गरी २७८ वटा उद्योग बन्द भएको पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिनुभयो । उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको सुवेदी बताउनुहुन्छ । 

उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्ने क्रम बढेको उहाँले बताउनुभयो । सुवेदीले भन्नुभयो, “युवालाई वैदेशिक रोजगारीमा मोह बढ्नु, उत्पादित समानले बजार पाउन कठिन तथा कोरोना असरकालगायतले गर्दा साना उद्योग बन्द हुने सङ्ख्या बढिरहेको छ ।” कार्यालयमा गत आवमा २१० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो । गत आवको तुलनामा चालु आवमा उद्योग खारेजका लागि धेरै आवेदन परेको उक्त कार्यालयले जनाएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर