एस् ए टी भी १४ वैशाख, काठमाडौंः ‘अपि स्वर्णमयीलङ्का न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।’ भगवान् रामले त्रेतायुगमा जब लङ्का जिते तब भाइ लक्ष्मणले लङ्काकै राजा बनेर बस्न सुझाए पछि माथिका हरफ भाइलाई भनेका थिए। आमाको महिमा गान गाउन कुनै शब्दले सक्दैन, आमा ममताकी खानी हुन्, स्नेहकी उपज हुन् अनिवात्सल्यकी प्रतिमूर्ति हुन्। पूर्वीय सभ्यतामा विकास भएका वेद तथा ग्रन्थहरूले आमाको स्थान पिता भन्दा हजार स्थान माथि आचार्य भन्दा लाख स्थान माथि अनि गुरुभन्दा दस लाख स्थान माथि हुने गर्दछ।
उनै आमालाई,जननीलाई खुसी पार्ने दिनको रूपमा हरेक वर्ष वैशाख कृष्ण आमावश्याको दिन मातातिर्थ औँसी अथवा मातृ औँसी अथवा आमाको मुख हेर्ने दिनका रूपमा मनाइने गरिन्छ।
९ महिना सम्म गर्भमा पालेर,दस धारा दूध पिलाएर एक सन्तानलाई आफू भन्दा बढी माया गरेर हुर्काउने, बढाउने आमाको सम्मानमा यस दिन उनलाई दर्शन भेट गर्ने, मिठामिठा परिकार बनाएर खुवाउने गरिँदै आएको छ।
मानिसमा मात्रै नभएर अन्य जनावरहरूमा पनि आमाको एक छुट्टै स्थान रहन्छ। जसरी एउटा गाईले आफूले जन्माएको बाच्छो को नजिक कोही गएको देखि नसकेर हान्न आउँछिन्, गुँडमा चिरबिर गरिरहेका बचेराको आहारा खोज्न जसरी एउटी चरी यता उता भौँतारिन्छे त्यसले एक आमाको अस्तित्व र महत्त्व स्पष्ट पारेको हुन्छ।
'आपदी मातैव शरणम्" भनेझैँ हामी मनुष्य प्रजाति विपत् पर्दा आमा पुकार्छौँ यसले आमाले कसरी दुखमा पनि सन्तानको साथ छोड्दिनन् भन्ने भाष्य स्थापित गरेको छ। जन्म दिएर सम्पूर्ण लालन पालनमा अहोरात्र खट्ने ती आमाको सम्मानमा मनाइने यस मातातिर्थ औँसी पर्वको दिन काठमाडौँको मातातिर्थमा रहेको मातातिर्थ तलाउमा मेला लाग्ने गरेको छ।
त्रेतायुगमा वनवासको क्रममा राम र सिता यहाँ आएको र सितालाई पानीको एकदमै प्यास लाग्दा रामले देवी गङ्गालाई सम्झेर जमिनमा वज्र प्रहार गर्दा पानीको तलाउ बनेको ठाउँ नै मातातिर्थ रहेको किंवदन्ती रहेको पाइन्छ। त्यसको धेरै पछि एक जना गोठाला गाईबस्तु चराउन जाँदा केही आहार नगरेको अवस्थामा उक्त तलाउमा पुग्दा आफ्नी मरिसकेकी आमाको स्वरूप देख्छन् र आमालाई लगेर मात्रै घर फर्किने हठ गर्न लाग्दछन्। उक्त गोठालालाई उनकी आमाले म अहिले तिमि सङ्ग अथवा तिमी म सङ्ग आउन नमिल्ने तर हरेक वैशाख कृष्णऔँसीको दिन यहाँ आए मलाई देख्ने छौ भनी फकाएर पठाएको भन्ने कथन रहेको छ। त्यस दिनदेखि वैशाख कृष्ण आमावास्यको दिन मातातिर्थमा मेला लाग्ने गरेको इतिहासका जानकारहरूले बताउँछन्।
आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम ‘मातातीर्थ’ रहेको हो । त्यहाँ गएर छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आपना आमालाई मुक्त गराउन सक्छन् । स्वस्थानी व्रतकथा अनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । त्यस कारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आत्माले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास छ ।
प्राणीलाई आमाले जस्तो माया गर्ने संसारमा अरू कोही छैनन् । आमा धरती हुन् किनभने उनले धर्तीझैं सहनशील भएरबालबालिकाको पालनपोषण एवं सुरक्षा गरेकी हुन्छिन् । आमाले जसरी सन्तानप्रति कुनै कारणविना नै स्नेह प्रदान गर्ने व्यक्ति अरू कोही हुँदैनन् । त्यसैले आमाप्रति सम्मान प्रदान गर्नु सन्तानको पहिलो कर्तव्य हो । यही कर्तव्य पूरा गर्न नेपाली समाजमा हरेक वर्ष मातृऔंसीका दिन आमाको मुख हेर्ने चलन छ ।
वर्तमान सन्दर्भमा विविध कारणले आमा र छोरा-छोरीबीचको सम्बन्ध मानसिक रूपमा नभए पनि भौतिक रूपमा भने टाढिँदै गएको देखिन्छ । व्यस्तताका कारण सबैसँग सँगै बसिरहने समय हुँदैन । तापनि सुपुत्र सुपुत्रीहरूमा आमाप्रतिको आदर-सम्मान तथा प्रेम कम हुँदैन । जतिसुकै समय अभाव हुँदा पनि केही क्षण कुरा गर्ने फुर्सद निकाल्छन् । त्यसो गर्न पनि नभ्याए अनलाइन गिफ्ट पठाएर चित्त बुझाउँछन् । अहिले समय फेरिएको छ, क्रियाकलाप बदलिएका छन् तर आमाप्रतिको श्रद्धा र महत्व उही उचाइमा छ ।
तस्विरहरु रातोपाटी अनलाइनबाट साभार गरिएका हुन्।