नेभिगेसन मेनु

टिम्मुरेको बगरभरि बिजुली गाडीको लस्कर
सम्पादक:南亚网络电视
समय:2024-06-13 13:25

timure_bagar_xQJD3pQavi

पछिल्लो समय विद्युतीय (ईभी) गाडीतर्फ सर्वसाधारणको आकर्षण बढ्दो छ । पेट्रोलबाट चल्ने सवारी साधनको तुलनामा कम लागत लाग्ने र प्रदूषणमुक्त हुने भएकाले ईभीतिर धेरैले रुचि राखेको देखिन्छ । पेट्रोलियम पदार्थको आयातमा ठूलो व्यापार घाटा व्यहोर्नुपर्ने भएपछि सरकारले ईभी गाडीको प्रयोगमा जोड दिएको छ । 

सन् २०३० सम्म निजी सवारी साधनमध्ये ९० र सार्वजनिकमध्ये ६० प्रतिशत विद्युतीय सवारी साधन पु¥याउने लक्ष्य छ । जसअनुसार निजी मात्रै नभई सार्वजनिक यातायाततर्फ पनि ईभी भित्रिन थालेका छन् । अहिले विद्युतीय मोटरसाइकल, स्कुटर, कार, बस, माइक्रोबस र तीन पांग्र्रे सवारी साधन आइरहेका छन् । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले विद्युतीय गाडीका निम्ति ठाउँठाउँमा चार्जिङ स्टेशन जडान गरिरहेका छन् । 

यता, होटल, रेष्टुरेण्टहरुले पनि धमाधम ईभीको चार्जिङ स्टेशन जडान गर्न थालेका छन् । भन्सार विभागको तथ्यांकअनुसार ०८०/८१ को वैशाखसम्म झण्डै ९ हजार ईभी गाडी भित्रिएको छ । सबैभन्दा बढी चिनियाँ कम्पनीका गाडी आएको छ । करिब ३७ कम्पनीका कार र जीप भित्रिने गरेको छ । जसमा ओमोडा, नेटा, हुन्डाई, टाटा, बिवाईडीलगायत छन् । अब छिट्टै सुजुकी र चिलीले पनि यसतर्फ हात हाल्दैछन् । 

यसबीच ०८१/८२ मा ईभी गाडीमा करको दर बढाउने घोषणा भएको छ । ईभी गाडी भित्रिने क्रम बढेकाले सरकारले त्यताबाट राजश्व उठाउन खोजेको हो । जेठ १५ गते ल्याइएको बजेटमा गाडीको किलोवाटअनुसार करको दर हेरफेर गरिएको छ । ५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार र पाँच प्रतिशत अन्तःशुल्क लगाइएको छ । जबकि चालु वर्ष उक्त क्षमताको गाडीको भन्सार १० प्रतिशत मात्रै थियो भने अन्तःशुल्क लगाइएको थिएन । 

५१ भन्दामाथि १०० किलोवाटसम्मको गाडीमा पाँच–पाँच प्रतिशत भन्सार र अन्तःशुल्क वृद्धि भएको छ । यसभन्दा अगाडि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अब २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । १०१ भन्दामाथि २०० किलोवाटसम्मको गाडीमा १० प्रतिशत भन्सार वृद्धि गरिएको छ । हालसम्म २० प्रतिशत भन्सार लाग्दै आएकोमा अब ३० प्रतिशत पुर्‍याइएको छ । अन्तःशुल्क भने पहिलेकै कायम छ । त्यसभन्दा माथि सिसी हेरेर करको दर बढाइएको छ ।

करको दर वृद्धि भएसँगै ईभी गाडीमा लाखौं रुपैयाँको फरक आउने अटो व्यवसायीहरु बताउँछन् । ५० किलोवाटसम्मको गाडीमा तीन लाखसम्म मूल्यवृद्धि हुने उनीहरुको भनाइ छ । एक सय किलोवाटको गाडीमा पाँचदेखि सात लाख रुपैयाँसम्म मूल्य बढ्न सक्ने जनाइएको छ । कर बढ्ने डरले व्यवसायीहरुले धमाधम विद्युतीय गाडी आयात गर्न थालेका छन् । उनीहरुले दुई पांग्र्रेसँगै चार पांग्रे पनि तीव्र रुपमा आयात गरिरहेका छन् । 

उत्तरी नाका रसुवागढीमा विद्युतीय गाडीको लाम लागेको छ । सयौंको संख्यामा केरुङ–टिम्मुरेको बगरभरि कार, मिनी कार ल्याएर राखिएको छ । बजेट आउनुभन्दा केही अगाडिदेखि गाडीको आयात ह्वात्तै बढ्ने रसुवागढी भन्सार कार्यालयको भनाइ छ । चालु आर्थिक वर्षको हालसम्म सो नाकाबाट झण्डै चार हजार ईभी गाडी भित्रिएको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार दैनिक पाँच दर्जन गाडी त्यहाँबाट भित्रिने गरेको छ । 

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले वृद्धि भएको करले आयात संख्यामा कमी आउने जनाएको छ । एशोसिएशनका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बजेटमा भएको कर वृद्धिले अटो व्यवसाय क्षेत्रमा प्रभाव पर्ने बताए । यसले ईभी गाडीको मूल्यमा लाखौंको फरक पर्ने उनको भनाइ छ । ‘अहिले १७–१८ लाखदेखि ईभी गाडी शुरु हुन्छ । करको दर बढेपछि पहिलेभन्दा मूल्यमा वृद्धि हुन्छ । त्यसैले आयातमा प्रभाव पर्न सक्छ । कर बढेसँगै व्यवसायीले धमाधम गाडी भित्र्याउन थालेका छन् । त्यसैगरी, जति पनि गाडी केरुङमा आएको थियो, सबै छुटिसकेको छ ।’

त्यस्तै, एशोसिएशनका कर्मचारी प्रमुख सुरेन्द्रमान प्रधानले करको दर स्थिर नहुँदा लगानीकर्ता सवारी साधनमा लगानी गर्न हिच्किचाइरहेको बताए । सरकारले ईभी गाडीलाई प्रोत्साहन गर्ने भने पनि व्यवहारमा अलग देखिएको उनको गुनासो छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर